ओखलढुङ्गाका किशोरीहरूलाई एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले यही माघ २२ गते देखी २७ गते सम्म जिल्लाका ७ हजार २०१ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप लगाउने तयारी गरेको छ ।
खोप अभियान प्रभावकारितालाई लागी जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य स्वयं सेविका सँग अन्तरक्रिया गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका खोप फोकल पर्सन उमा गुरुङले बताउनु भएको छ । कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने छात्राहरू र विद्यालय बाहिर रहेका १० देखी वर्ष उमेर समुहका किशोरीहरूलाई खोप लगाइने फोकल पर्सन उमा गुरुङको भनाई रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका अनुसार चम्पादेवी गाउँपालिकामा यहि माघ २२ गते देखी २५ गते सम्म खोप अभियान सञ्चालन गरिने भएको छ । चिशङखुगढि गाउँपालिकामा २२ गते देखी २४ गते सम्म, खिजी देम्बा गाउँपालिकामा २३ गते देखी २५ गते सम्म, लिखु गाउँपालिकामा २२ देखी २७ गते सम्म खोप अभियान सञ्चालन गर्ने कार्य तालिका रहेको छ ।
यसै गरि सिद्धिचरण नगरपालिकामा माघ २२ देखी २६ गते सम्म, सुनकोसी गाउँपालिकामा माघ २३ देखी २७ गते सम्म, मानेभञ्ज्याङ गाउँपालिकामा माघ २४ देखी २७ गते सम्म र मोलुङ गाउँपालिकामा माघ २३ देखी २७ गते सम्म खोप अभियान सञ्चालन गर्ने तालिका रहेको छ ।
खोप सञ्चालनका लागी जिल्लाका १३४ वटा विद्यालय, ७७ वटा स्वास्थ्य संस्था र २ वटा अन्यत्र गरि २१३ ठाउमा खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।