
पत्रकारितामा आएको रुपान्तरणले डिजिटल मिडियालाई सशक्त मात्रै बनाएको छैन, अब डिजिटल पत्रकारिता अर्थात् Paperless Journalism मा विश्व पुगिसकेको छ । करिब अबको दशकपछि हातले लेख्ने, कागजमा पत्रिका छाप्ने काम अपवाद मात्रै नहोलान् भन्न सकिन्न ।
प्रविधिको विकासले सबैभन्दा बढी नवप्रर्वतनका काम मिडिया क्षेत्रमा भएका छन् । ७० बर्षको अवधिमा मिडिया क्रान्ति चरमोत्कर्षमा छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र आएको खबर त्यसबेला अर्को बर्ष अर्थात् २००८ सालमा मात्रै जुम्लामा पुगेको कुरा इतिहासमा पढ्न पाइन्छ । ७० बर्षपछि अहिले विश्वका कुना कुनाका खबर सेकेन्ड सेकेन्डमा हातैमा पढ्न र हेर्न सकिन्छ ।
अब धेरै पत्रपत्रिकाहरु छापिन छाडेका छन्, रेडियोहरु सुनिन छाडेका छन् । यसको प्रमुख कारण अब मिडियामा सुपर डिजिडल प्रविधी हावी भयो । अब रेडियो सुन्न मात्र होइन हेर्न सकिने भयो, सोसल मिडियामार्फत । मिडियामा आएको डिजिटाइजेशन धेरै पुरानो छैन । सन् १९७१ मा इमेलको विकास भएपछि सुचना आदानप्रदानमा सहजता आएसँगै सन् १९९१ मा अमेरिकामा सिकागो अनलाइन शुरु भयो । यसपछि छापाबाट पत्रकारिता डिजिटल युगमा प्रवेश गर्यो ।
नेपालमा २०५६ सालमा नेपालन्यूज डटकमको अनलाइन अखबार शुरु भयो । यसमा पत्रिकामा छापिएका समाचार र पेजहरु प्रकाशित हुन्थे । २०५७ मा व्यवसायिक रुपमा कान्तिपुर आलाइन डटकम शुरु भएपछि व्यवसायिक रुपमा पत्रकारिता यसतर्फ मोडियो । त्यसबेला कन्टेन्ट र फोटोसम्म राखिने गरि शुरु भएको अनलाइन पत्रकारिताको अहिले पोडकाष्ट, अडियो–भिडियो सबै एकैसाथ सुन्न, पढ्न र हेर्न सकिने पत्रकारितामा मल्टिीफिचर देख्न सकिन्छ ।
देशभर हजारौं अनलाइनहरु सञ्चालन भइरहेका छन् । हात हातमा मोवाइलमा इन्टरनेटको माध्यमबाट पत्रकारिता गर्न मात्रै होइन, स्रोत, दर्शक र पाठकलाई पनि सुचना प्राप्त गर्न, चाहेको बेला चाहेको सुचना खबर पढ्न सहजता ल्याएको छ । हिजो प्रविधिले स्थानीय, क्षेत्रीय राष्ट्रिय भनेर वर्गीकरण हुने सञ्चारमाध्यमहरु अहिले सबै उच्चतम प्रविधिकै कारण मिडिया ग्लोबल बनेका छन् ।
ओखलढुंगामै हेर्ने हो भने स्थानीय लोकेशन अर्थात् कार्यालय जनाइ २०८१ माघ २० गतेसम्म पाँच वटा अनलाइन समाचार पोर्टलहरु चलिरहेका थिए । श्रीपञ्चमीको बिहानदेखि डिजिटल मिडियाका रुपमा नेपालविचार डटकम थपिएको छ । यसको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।
डिजिटल मिडिया सबैको हातमा हुने हुनाले आम नागरिकको पहुँच बढिरहेको छ । नागरिक पत्रकारिताको अवधारणा पनि विकास हुँदैछ । स्मार्ट फोनले यस क्षेत्रमा क्रान्ति नै ल्याएको छ । पत्रपत्रिका, रेडियो, टिभीको प्रभाव र प्रभुत्व घटिरहेको अवस्थामा समाचार कक्ष र त्यहाँका शैलीहरु फेरिएका छन् ।
परम्परागत सञ्चार माध्यमलाई चुनौती छ । सहज पँहुच, द्रुत सुचना प्राप्ति नै डिजिटल मिडियाको उपलब्धी हो । यससँगै चुनौतिहरु पनि छन् । यसको दुरुपयोगले समस्या ल्याउँदैछ । फेक सुचनाले डिजिटल मिडिया प्रभावित छ । लगानी र दिगोपनाको चुनौति छ । यसका डिजिटल अभिलेखालयको व्यवस्थापन, बौद्धिक चोरी, आचारंहिता र नैतिकतामा चुनौति छन् । यस्तो संवेदनशील परिस्थिति सामना गरेर सत्य, तथ्य र पारदर्शी एवं जवाफदेही पत्रकारिताका लागि नेपालविचार डटकमलाई शुभकामना !
लेखक: नागरिक मिडिया डटकमका प्रधान सम्पादक हुन् ।